किमाथाङ्का नाका शनिबारदेखि खुल्ने
-आस्था न्यूज
जेठ ११, २०८१ काठमाडौं ।
नेपाल-चीनको सिमानामा पर्ने सङ्खुवासभाको किमाथाङ्का नाका शनिबारदेखि खुल्ने भएको छ । विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ । यस्तै यो चीनतर्फ जोड्ने किमाथाङ्का नाका सञ्चालनमा अन्य नाकाको तुलनामा सहज हुने बताइन्छ ।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भोलि देशका उत्तरतर्फका १४ वटा नाका खुलेको घोषणा गर्न सङ्खुवासभाको किमाथाङ्का पारिपट्टी चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने छेम्दाङमा विशेष कार्यक्रम गर्न लागिएको हो ।
उक्त नाका खुलाउन स्थानीय तहमा धेरै प्रयास भए पनि सार्थकता पाउन सकेको थिएन । ‘स्थानीय प्रयासले सार्थकता नपाइरहेको अवस्थामा सङ्घीय सरकारको प्रयत्न पछि एकै पटक १४ वटा व्यापारिक नाकाहरू खुल्न लागेका हुन्,’ प्रमुख जिल्ला अधिकारी खड्काले भने । कार्यक्रम हुने स्थान नेपालको सीमा क्षेत्रबाट पैदल १५ मिनेट हिँड्ने र पुनः १५ मिनेट गाडीमा जानुपर्ने खड्काले बताए । नेपालको सीमा क्षेत्र किमाथाङ्कासम्म भने चीनले पनि बाटो जोडेको छैन । यद्यपि भन्सार कार्यालय भने चीनले स्थापना गरेको छ ।
कोरोना कालदेखि बन्द भएका देशका उत्तरतर्फका १४ वटै नाका खुलेको घोषणा भने सङ्घीय सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्नेछन् ।