Trending :
 

सहकारी प्रकरणः कार्यदलको बैठक आज पनि बस्दै

जेठ १२,२०८१

-आस्था न्यूज

जेठ १२, २०८१ काठमाडौं ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश ९टीओआर० तय गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।
 
बैठक दिउँसो ३ बजे कानून, न्याय र संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदल सदस्य तथा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
 
समिति गठनको क्षेत्राधिकारका बारेमा कार्यदलमा पटक पटक छलफल भए पनि सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन।
 
यसअघि हिजो अपराह्न बालुवाटारमा भएको शीर्ष नेताहरु सम्मिलित बैठकले आजको कार्यदल बैठकमा सत्तापक्ष र प्रतिपक्षबाट आ–आफ्ना प्रस्ताव पेस गर्ने सहमति भएको छ ।
 
शीर्ष नेताहरु सम्मिलित बैठकमा कार्यदलको तर्फबाट अहिलेसम्म भएका छलफल र प्रगतिका बारेमा एमाले मुख्य सचेतक महेश बर्तौलाले ब्रिफिङ गरेका थिए ।
 
प्रमुख प्रतिपक्ष दल सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेकाले उनको नामै किटेर उनी संलग्न सहकारी तथा संस्थामा छानबिन हुनेपर्ने माग राख्दै आएको छ भने सत्ता पक्ष व्यक्ति केन्द्रित समिति बन्न नसक्ने अडानमा छ ।
 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उक्त प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदका दुवै सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गर्दै आएको छ ।