Trending :
 

सहकारी प्रकरणः कार्यदलसहित राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बस्दै

जेठ १३,२०८१

-आस्था न्यूज

जेठ १३, २०८१ काठमाडौं ।
सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ ।
 
शनिबार दिउँसो कार्यदलको बैठक सहमति नजिक पुगेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्ष नेताबीचको छलफल निचोडमा नपुगेपछि आज पुनः छलफल हुन लागेको हो ।
 
कार्यदलबीच जुनजुन सहकारीबाट रकम नियमविपरीत अपचलन भएको छ, जुन कम्पनीले लिएको छ, ती सहकारी र अपचनलमा संलग्न संस्थाहरुको नाम उल्लेख गरेर जाने र त्यसैलाई केन्द्रमा राखेर छानबिन गर्ने लगभग सहमति भएको छ ।
 
तर कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नामको विकल्पमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक उल्लेख गर्नुपर्ने प्रस्तावमा सत्ता पक्ष सहमतिमा नआइसकेको कार्यादल सदस्य जीवन परियारले जानकारी दिए ।
 
उनले सहकारी सञ्चालकहरू, गोरखा मिडिया नेटवर्कलगायत कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारे समेत छानबिन गरिनुपर्छ भन्ने प्रतिपक्षको कुरामा सत्ता पक्ष सहमत भइसकेको छैन ।
 
यस अघि कार्यदलको बैठकमा सत्ता पक्ष ठगि भएका सहकारीको नाम र ऋण लैजाने कम्पनिको नाम उल्लेख गरेर छानबिन अगाडी बढाउन सहमत भएको थियो ।