Trending :
 

कोरोना महामारीका कारण बन्द भएका किमाथांका सहित ७ व्यापारिक नाका खुला

जेठ १३,२०८१

-आस्था न्यूज

जेठ १३, २०८१ काठमाडौं ।
कोरोना महामारीका कारण बन्द भएको संखुवासभाको किमाथांका नाका शनिबारदेखि खुला भएको छ । योबाहेक परम्परागत ६ व्यापारिक नाका यसअघि नै खुला भइसकेका छन् । 
 
पहिलो चरणमा संखुवासभाको किमाथांका, मुस्ताङ, गोरखा, डोल्पा र ताप्लेजुङका एक-एक परम्परागत नाका तथा दोलखाका दुई परम्परागत नाका खुलेका छन् । बाँकी नाका चरणबद्ध रूपमा खोल्न चीन सहमत भएको छ । 
 
शनिबार किमाथांका नाकाबाट चीनतर्फ तिब्बतको चेन्ताङ टाउनमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले नेपाल–चीनका १४ परम्परागत नाका सञ्चालनमा आएको घोषणा गरेका छन् । 
 
कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, ल्हासाका नेपाली महावाणिज्यदूत नवराज ढकाल, संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटे, परराष्ट्र र गृह मन्त्रालयका उच्च पदाधिकारी तथा सुरक्षा अधिकारी तिब्बत पुगेका थिए ।
 
चीनका तर्फबाट उपाध्यक्ष निमा, नेपालका लागि चिनियाँ राजदूत चेन सोङलगायत चिनियाँ अधिकारी पनि सीमानाका खुला भएको घोषणा कार्यक्रममा सहभागी थिए । 
 
उपप्रधानमन्त्री श्रेष्ठ शनिबार बिहान संखुवासभाको तुम्लिङटार विमानस्थलमा अवतरण गरी चीनको सीमावर्ती किमाथांका नाका खोल्ने कार्यक्रममा सहभागी भएर शनिबारै फर्केका छन् । 
 
तुम्लिङटारमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले नेपालका तर्फबाट चीन सरकारलाई पटक-पटक गरिएको पहलपछि परम्परागत १४ नाका एकैपटक खुला भएको घोषणा गरिएको बताए । घोषणा गरिए पनि किमाथांकालगायत सातवटा नाका मात्रै खुला भएको तथा बाँकी नाका पनि सुचारु एनले हुने बताए ।