कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी
-आस्था न्यूज
जेठ १३, २०८१ काठमाडौं ।
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधको बीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।
यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गरेका थिए । तर, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेकाले नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन ।
आजको बैठकमा पनि नेपाली कांग्रेसले आफ्नो पूर्वअडान कायम राख्दै संसदमा नाराबाजी गरिरहेको छ । तर सभामुखले त्यसमाथि छलफलका लागि एक घण्टाको समय निर्धारण गरिएको जानकारी गराएका छन् ।
त्यसअघि राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए ।
त्यसपछि नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा छलफल भइरहेको छ ।
प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु भने वेल घेरेर नाराबाजी गरिरहेका छन् ।