सदनको अवरोध हटाउन प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षण
-आस्था न्यूज
जेठ १३, २०८१ काठमाडौं ।
सदनको गतिरोध हटाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच नीति तथा कार्यक्रम पारित गर्ने तयारी भइरहँदा उनले यस्तो ध्यानाकर्षण गराएका हुन्।
‘संसद जनताका सबैप्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो भन्ने हाम्रो पार्टीको दृढ विश्वास छ। अहिले संसद अवरुद्धजस्तै भएको छ। संसदमा देश र जनताका समस्यामा सार्थक बहस हैन, अस्वस्थ्य आरोप-प्रत्यारोप भैरहेको छ भने सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको छ। नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रित हुनुपर्ने बेलामा यसखाले टकरावको अवस्था देखा पर्नु निसन्देह दुःखद छ,’ उनले ध्यानाकर्षण पत्रमा भनेका छन्।
उनले प्रतिपक्षलाई छलफल र सार्थक संवादको माध्यमबाट विश्वासमा लिएर अगाडि बढ्ने विषयमा सत्तापक्षले कुशलता र आवश्यक लचकता देखाउनु पर्ने बताए।
‘हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछौं-संसदका नियमित काम-कार्यवाही अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका साथै अन्य प्रतिपक्षी दलसँग तत्काल सार्थक छलफल र वार्ताद्वारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउनका लागि गम्भीर पहल गर्नु होस्,’ उनले भनेका छन्।
कठिन खालका असहमति र द्वन्द्वसमेत वार्ता र सहमतिको आधारमा समाधान गर्न सकिन्छ भन्ने अनुभव प्रधानमन्त्रीलाई भएको एकीकृत समाजवादीले बताएको छ।
‘यसर्थ, संसदमा देखिएको गतिरोध समाधान गर्ने दिशामा सम्माननीय प्रधानमन्त्रीज्यूको सक्रिय पहल होस्। हाम्रो पार्टीको तर्फबाट सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्ने बारेमा हरेक खालको सहयोग हुने छ,’ अध्यक्ष नेपालको भनाइ छ।
यसैबीच प्रमुख प्रतिपक्षी दलको नाराबाजीबीच सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ।