Trending :
 

ओली-लामिछाने भ्रष्टाचारको गठबन्धन हुन्ः महामन्त्री शर्मा

जेठ १३,२०८१

-आस्था न्यूज

जेठ १३, २०८१ काठमाडौं।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा साथ दिएर गिरिबन्धुमा साथ लिन लागिपरेको आरोप लगाएका छन्।
 
कांग्रेसले आइतबार राजधानीमा सरकार विरुद्ध गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै कांग्रेस नेता शर्माले गिरिबन्धुमा साथ लिनकै लागि संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडानमा एमाले अध्यक्ष ओली रहेको बताए। गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आसय रहेको उनको आरोप छ।
 
‘ओलीलाई जोगाउनुपर्ने पार्टी पङ्ति छ। रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भक्तपुरका रवि लामिछानेलाई समय लाग्छ।’
 
अध्यक्ष ओलीको अडानलाई लिएर एमाले भित्र गम्भीर समीक्षा हुनुपर्ने समय भइसकेको पनि उनले बताए। ‘एमाले आज कुन वर्गको पक्षमा उभिन चाहन्छ रु’, शर्माले प्रश्न गरे। गृहमन्त्री रवि लामिछानेले संसद्‌मा सम्बोधन गर्दा उठाएका सवालबारे सबैमा छानबिन गर्न कांग्रेस तयार रहेको भन्दै शर्माले अधिकारसम्पन्न आयोग बनाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई चुनौती दिए।
 
महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछाने उपर कतै पनि अभियोजन नभएको भन्दै लेखेको पत्रबारे टिप्पणी गर्दै महामन्त्री शर्माले भने, ‘यो महान्यायाधिवक्ता कार्यालय रास्वपाको भ्रातृ संस्था हो? कहिले लेखेर दिन्छ, सहकारीमा दोषी हुनुहुन्न भनेर। कहिले लेखेर दिन्छ, दुई वटा पासपोर्टमा मुद्दा चलाउन पर्दैन भनेर।’