बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठारामसहित तीन वडाध्यक्षलाई पक्राउ गर्न आदेश
-आस्था न्यूज
जेठ १३, २०८१ काठमाडौं।
काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारीसहित तीन जना वडाध्यक्षलाई एक महिना कैदको फैसला सुनाउँदै पक्राउ गर्न आदेश जारी गरेको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलासले यस्तो फैसला सुनाएको हो । अदालतले वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई सजाय सुनाएको हो ।
‘पालिकाले निवेदकको सम्पत्ति सम्बन्धी हक अधिकारलाई अतिक्रमण गरेको देखिन आएको छ । यसो गर्ने अधिकार राज्यको हुँदैन’, फैसलामा भनिएको छ,‘ प्रतिवादीले अदालतको फैसलाको सम्मान नगरी अदालतको फैसलाको नै अवज्ञा गरेको समेत देखिन आएको छ ।’
जिल्लाले यसअघि गरेको फैसला कार्यान्वयन गर्न अटेर गरेको भन्दै यस्तो आदेश दिएको हो ।
विवादित क्षेत्रमा रहेका संरचना हरू हटाउनको लागि १०० दिनको समयसहित यसअघि जिल्ला अदालतबाट २०८०/१८ मा चलन दिएकोमा संरचना नहटाउने कार्यले अदालतको फैसला सम्मान नगरेको देखिन आएको अदालतको जिकिर छ ।