Trending :
 

बागमती सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

जेठ १४,२०८१

-आस्था न्यूज

जेठ १४, २०८१ काठमाडौं ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज सोमबार बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
 
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष कृषि, पर्यटन, शिक्षा र रोजगारी प्राथमिकता दिई तयार पारिएको नीति तथा कार्यक्रम सार्वजनिक गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।
 
प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । प्रदेश सरकारले विगत एक वर्षमा निर्माण गरेको नीतिलाई सन्तुलन कायम गर्ने गरी कार्यक्रमहरू तय गरिएको छ भने सो नीति अनुसार नयाँ ढङ्गका कार्यक्रमहरू तयारी गरिएको छ । सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी थालेको जनाइएको छ ।
 
५ वर्षे नीति निर्माण गरी सो अनुसार आगामी १० वर्ष लगानी वर्षको रूपमा अघि बढाउने सरकारको योजना रहेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए । प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र उत्पादकत्व वृद्धिमा केन्द्रित रहने उनले बताए । नागरिकको आवश्यकताको आधारमा प्रतिफल दिने योजनाहरू सरकारको नति तथा कार्यक्रम र बजेटमा समावेश गरिने उनको भनाई छ ।
 
शिक्षा क्षेत्रको विकासका लागि प्रदेशमा सार्वजनिक विश्व विद्यालय स्थापना तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय मर्जर गरी प्राविधिक शिक्षामा जोड दिने,  शिक्षा क्षेत्रमा गुणात्मक उपलब्धि निकाल्न पाठ्यक्रम र परीक्षा प्रणाली परिमार्जन गरी आवासीय मोडलमा विद्यालय शिक्षाको विकास गर्ने र शिक्षाको नीति अनुकूल आयोजना निर्माणमा सरकारले काम गरिरहेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।
 
कृषि क्षेत्रको रूपान्तरण र आर्थिक वृद्धिदर बढाउन समुदायमा आधारित पकेट क्षेत्रको मोडेलमा कार्यक्रम सञ्चालन गर्ने, समुदाय, निजी तथा सरकारी लगानीको मोडेल बनाएर आयोजनाहरू सञ्चालन गर्ने, पर्यटन क्षेत्रको विकासका लागि प्रदेशको एक निर्वाचन क्षेत्र एक पर्यटकीय गन्तव्य निर्माण, कृषि पर्यटनको विकासका योजनाहरू कार्यान्वयन गर्ने उनको भनाई छ । प्रदेश सरकारले पर्यटन तथा संस्कृति सम्पदाको क्षेत्रको विकासका लागि कानुन बनाएर भाषा साहित्य तथा काला संरक्षणमा तथा संवर्द्धनमा काम गर्ने योजना बनाएको उनको भनाइ छ ।