Trending :
 

सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै

जेठ १४,२०८१

-आस्था न्यूज

जेठ १४, २०८१ काठमाडौं ।
नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै छ ।
 
दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले तेस्रो पटक धनुषा जिल्ला अदालतमा पेश गर्न लागिएको हो ।
 
१० बजेपछि उनलाई म्याद थपको लागि पेश गर्ने तयारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया एक सातादेखि धनुषा प्रहरीको हिरासतमा छन् ।
 
स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीको निगरानीमा उनी अहिले सोही अस्पतालमा छन् ।
 
प्रहरी प्रवक्ता डिएसपी अवाले अदालतमा पेश गर्नुअघि सिरोहियाको स्वास्थ्य अवस्था सुधार भएको वा नभएको भन्ने विषयमा चिकित्सकसँग बुझ्ने काम भइरहेको बताए । उनका अनुसार स्वास्थ्य अवस्था जटिल भए भिडियो कन्फरेन्स मार्फत जिल्ला सरकारी वकिलको कार्यालयसँग छलफल गरी अदालतमा म्याद थपको लागि सिफारिस गरिने छ ।