Trending :
 

नयाँ मापदण्डसहितको ‘शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत

जेठ १४,२०८१

-आस्था न्यूज

जेठ १४, २०८१ काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरेको छ । नयाँ मापदण्डसहितको निर्देशिका स्वीकृति गरेको हो । 
 
यसअघि शिक्षकको जिल्लान्तर सरुवा रोक्का गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त निर्देशिका स्वीकृत गरेसँगै रोक्का सरुवा फुकुवा भएको हो । अब यही निर्देशिका बमोजिम शिक्षक सरुवा र व्यवस्थापन हुनेछ ।
 
कार्यविधि अनुसार सरुवाका लागि तोकिएको मापदण्ड अनुसार निवेदन दिएको ३० दिनभित्रमा सरुवा गरिने प्रावधान राखिएको छ । निर्देशिका जारी भएसँगै शिक्षकले सरुवाका लागि विभिन्न ठाउँमा धाउनुपर्ने व्यवस्था अन्त्य गरिएको मन्त्रालयले जनाएको छ । 
 
निर्देशिकाको दफा ७ को उपदफा २ मा अनिवार्य अवकाश हुने भई शिक्षकको पद रिक्त हुने भएमा तीन दिन अगावै सरुवासम्बन्धी प्रक्रिया अगाडि बढाइनेछ । 
 
आइतबार मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत निर्देशिकामा आवश्यकता अनुसार शिक्षकको पद रिक्त भएपछि त्यसको जानकारी एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा राखेर सात दिनभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो सूचना स्थानीय तहले आफ्नो वेबसाइट समेत प्रकाशन गर्नुपर्नेछ । स्थानीय तहले अद्यावधिक गरेको रिक्त पदको विवरण केन्द्रले आफ्नो वेबसाइटमा सबैको जानकारीका लागि राख्नुपर्नेछ ।
 
रिक्त पदमा सरुवा हुन इच्छुक शिक्षकले शिक्षा नियमावलीको अनुसूची १७ बमोजिम आफू कार्यरत विद्यालयको सहमतिसहित निवेदन दिनुपर्नेछ । आवश्यक कागजातसहित निवेदन दिने म्याद समाप्त भएको दिन सम्बन्धित प्रधानाध्यापकले विवरण प्रमाणित गरी विद्यालयको वेबसाइट र सूचना पाटीमा निवेदकको विवरण टाँस गर्नुपर्ने निर्देशिका उल्लेख छ ।