Trending :
 

अब नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’

जेठ १४,२०८१

-आस्था न्यूज

जेठ १४, २०८१ काठमाडौं ।
नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको थियो ।
 
उक्त छलफलमा ‘सिनेमाण्डु’ नामाकरणबारे सहमति जुटेको र आजै बेलुका बस्ने बोर्ड बैठकले त्यसलाई अनुमोदन गर्ने बोर्ड अध्यक्ष भुवन केसीले बताए । ‘सबै संघसंस्था त्यो नाममा सहमत छन् । बोर्ड बैठकले निर्णय गरेर यसलाई मन्त्रालयमा पठाउनेछ,’ केसीले भने ।
 
नामाकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बोर्डको निर्णयपछि नामाकरणबारेको सिफारिस सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने भएको छ ।
 
मन्त्रालयले यो नामलाई मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि आधिकारिकरुपमै नेपाली फिल्म क्षेत्रले नाम पाउनेछ ।
 
बोर्डले सिनेमाण्डु, कान्तिपुर फिल्म्स र हिमालय फिल्म्समध्येबाट एक नाममा सहमति कायम गर्नुपर्ने भन्दै छलफलमा बोलाएको थियो ।