Trending :
 

अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश विद्यालय बन्द

जेठ १४,२०८१

-आस्था न्यूज

जेठ १४, २०८१ काठमाडौं ।
अत्यधिक गर्मी बढेपछि तराईका केही पालिकाहरूले विद्यालय विदा दिन थालेका छन् । नेपालगञ्ज उप(महानगरपालिका र वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय विदा दिएको छ ।
 
वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख तथा सूचना अधिकारी अरबिन्दलाल कर्णले अनुगमनको क्रममा बालबालिकालाई गर्मीका कारण समस्या भइरहेको पाइएपछि वर्षे विदा कटौती गर्ने गरी बुधबार, बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको जानकारी दिए ।
 
उनले भने, ‘यहाँ बिहान ७ बजेपछि पसिनाले भिज्ने अवस्था छ यस्तोमा बालबालिकालाई गाह्रो हुन्छ भनेर ३ दिनको विदा दिइएको छ ।’ मंगलबार सार्वजनिक विदा भएकोले बुधबारदेखि विदा दिने निर्णय भएको उनले बताए ।
 
त्यस्तैगरी नेपालगञ्ज उप-महानगरपालिकाले पनि तीन दिन विदा दिने निर्णय गरेको जनाएको छ । नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाले त्यसपछि अवस्था अनुसार विदा दिने नदिने निर्णय हुने बताए ।
 
उनले भने, ‘अहिले तीन दिनको लागि विदा दिइएको छ । त्यसपछि तापक्रम कस्तो हुन्छ त्यसैको आधारमा विदा दिने नदिने निर्णय हुन्छ ।’