बजेट भाषणः सूचना प्रविधिको विकासमा आउँदो वर्ष उच्च प्राथमिकता दिने
-आस्था न्यूज
जेठ १५, २०८१ काठमाडौं
सरकारले आउँदो आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान विन्दुका रूपमा कार्यान्वयन गर्ने भएको छ ।
बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधिको विकासमा आउँदो वर्ष उच्च प्राथमिकता दिने बताउनुभएको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरेर कार्यान्वयन गर्न ५९ करोड रुपैयाँ विनियोजन भएको छ ।
काठमाण्डौ र बुटवलमा सरकार र निजी भवन उपयोग गरेर सूचना प्रविधि पार्क बनाउने घोषणा भएको छ । जहाँ चौबीसै घण्टा बिजुली, उच्च गतिको इन्टरनेट, रेस्टुरेन्ट र सुरक्षा हुनेछ । पार्कमा तीन वर्षसम्म कुनै शुल्क नतिरि बसेर काम गर्न सकिनेछ ।
यसैगरी ललितपुरको भैँसेपाटीमा ज्ञान पार्क बनाउन १७ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै स्वेदेशी सफ्टवेर प्रयोगमा प्रोत्साहन गर्ने, सूचना प्रविधि विषय पढिरहेका युवालाई सूचना प्रविधि उद्योगमा इन्टर्नको रूपमा काम दिइने लगायतका विषय बजेटमा उल्लेख छ ।