नेपालले दैनिक ४ सय मेगावाट बिजुली भारत निर्यात गर्न थाल्यो
-आस्था न्यूज
जेठ १७, २०८१ काठमाडौं ।
नेपालले दैनिक ४ सय मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ ।
वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेको र यसले जलविद्युत् गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारतमा पुन विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त विद्युत् १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो ।
खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत् आयोजनामा विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक ४ सय मेगावाट हाराहारी बिजुली भारत निर्यात भइरहेको जानकारी दिए ।
उनका अनुसार पिक समयमा नेपालभित्रको खपत पनि २ हजार मेगावाट पुगेको छ । सात÷आठ वर्षअघि दैनिक विद्युत् खपत एक÷डेढ करोड युनिट हाराहारी रहेकोमा अहिले बढेर साढे ४ करोड युनिट पुगेको समेत उनले बताए ।
आन्तरिक माग पूरा गरी अतिरिक्त १ हजारदेखि १२ सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौता बमोजिम यस वर्ष निर्यात गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।
निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरण समक्ष प्रस्ताव पठाइसकेको समेत उनको भनाइ छ ।
द्विपक्षीय सम्झौता बमोजिम भारत बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४ सय मेगावाट हरियाणा राज्यलाई बिक्री गर्न एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले जानकारी दिए ।
केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ जलविद्युत् आयोजनाबाट उत्पादित ६ सय ५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ ।
६ सय ५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि १ सय १० मेगावाट विद्युत् एनभीभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ ।
एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा खरिद–बिक्री अनुमति पनि पाएको छ ।