Trending :
 

टिचिङमा मापदण्डविपरीत फार्मेसी सञ्चालन गरेको भेटिएपछि महानगरले लगायो ताला

जेठ १७,२०८१

-आस्था न्यूज

जेठ १७, २०८१ काठमाडौं ।
काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को कम्पाउण्डभित्रै मापदण्ड विपरित फार्मेसी सञ्चालन गरेको भेटिएपछि महानगरले ताला लगाएको छ ।
 
काठमाडौं महानगरपालिकामा टिचिङ हस्पिटलअगाडि म्याद नाघेको औषधि बेचेको गुनासो आएपछि बुधबार महानगरको स्वास्थ्य विभागले अनुगमन गरेको थियो ।
 
‘एक बिरामी बच्चालाई म्याद नाघेको औषधि बेचेको पाइयो । फार्मेसी सञ्चालन गर्नुपर्ने न्यूनतम मापदण्ड पालना पनि नगरेको पाइएपछि टिचिङको कम्पाउन्डमा रहेको पानोर्मा र पञ्जजन्य गरी २ वटा फार्मेसीमा ताला लगाएका हौं,’ महानगरकी निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले भनिन् ।
 
महर्जनका अनुसार  फार्मेसीमा रहेको भ्याक्सिनलाई राख्नुपर्ने तापक्रमको मापदण्डमा  नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधी बेचिएको समेत पाइएको छ ।
 
ताला लगाएका फार्मेसीहरुलाई महानगरले कानुन बमोजिम कारबाही र जरिवाना गरेर मात्रै टिचिङको कम्पाउन्ड बाहिर चलाउन दिने महर्जनले बताइन् । उनले टिचिङको कम्पाउन्डमा निजी फार्मेसी राख्न नमिल्ने नियम रहेको भन्दै अन्य फार्मेसीलाई पनि बाहिर बस्नुपर्ने बताइन् ।