यस वर्ष नेपालमा मनसुन छिटो भित्रिने
-आस्था न्यूज
जेठ १८, २०८१ काठमाडौं ।
यस वर्षको मनसुन नेपालमा सरदर मितिभन्दा छिटो भित्रिने प्रारम्भिक संकेत देखिएको मौसमविदहरुले बताएका छन् ।
मनसुन भारतसम्म आइसकेको छ । केरलाबाट भारत भित्रिएको मनसुन उत्तरपूर्वी क्षेत्रसम्म फैलिएको छ ।
भारतमा सरदर मितिभन्दा दुई दिन अगाडि नै मनसुन भित्रिएको र उत्तरपूर्वी क्षेत्रमा फैलिइसकेकाले नेपालमा पनि छिटो मनसुन भित्रिने प्रारम्भिक संकेत देखिएको मौसमविदहरुको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले नर्थइस्ट इण्डियामा मनसुन फैलिसकेकाले नेपालमा पनि अलि छिटो आइपुग्छ कि भन्ने अनुमान भएको तर प्रारम्भिक संकेतकै आधारमा ठोकुवा गर्न नसकिने बताए ।
जलवायुका विज्ञ डा. धर्मराज उप्रेती दुई दिन अगाडि नै भारतको केरलामा र ६ दिन अगाडि नै आसाम, मेघालयसम्म मनसुन फैलिनुलाई नेपालमा छिटो मनसुन भित्रिने संकेतको रुपमा लिन्छन् ।
उनका अनुसार मनसुन सरदरमा केरलामा जुन १ तारिख र आसाम मेघालयमा जुन ५ तारिखसम्म पुग्ने गर्दथ्यो । तर यस वर्ष छिट्टै भित्रिएको बताउँदै उनले भनेका छन्, ‘यो वर्षा करिब एक हप्ता अघि नै भारतको आसाम पुग्नुको अर्थ नेपालमा पनि एक हप्ता अघि नै पुग्ने सम्भावना बढेको छ ।’
यदि पश्चिमबाट हावा बढी आइदियो भने मनसुनी वायु अगाडि बढ्न पाउँदैन । तर पूर्वबाट हावा बढी आइदियो भने पश्चिमी वायु पछि हट्छ र मनसुन प्रवेश गर्छ ।