रामेछापका वामपन्थी नेता देवशंकर पौडेलको ‘लिखुसँग आत्मसमर्पण’ सार्वजनिक
-आस्था न्यूज
जेठ १८, २०८१ काठमाडौं ।
रामेछापका वामपन्थी नेता देवशंकर पौडेलको अर्को पुस्तक ‘लिखुसँग आत्मसमर्पण’ सार्वजनिक भएको छ ।
पौडेलकोे यसअघि पनि ‘थातथलोका कथा’ समेटिएको पुस्तक सार्वजनिक भैसकेको छ ।
रामेछापका पूर्व सांसद समेत रहेका पौडेलले आफ्नो जन्मस्थल वरपर बाल्यकालदेखि देखे भोगेका रोचक घटनाहरूलाई नयाँ कृतिमा समेटेका छन् ।
लेखक पौडेलको नयाँ कृति लिखुसँग आत्मसमर्पण पुस्तकको शुक्रवार आलोकनगरस्थित एकीकृत समाजवादी पार्टी कार्यालयमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले विमोचन गरेका हुन् ।
नेकपा एसको रामेछाप काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको विमोचन कार्यक्रममा अध्यक्ष माधव नेपालले देवशंकर पौडेलको अध्ययन अनुसन्धान गर्ने स्वभाव देखेरै आफूले प्रधानमन्त्री भएका बेला शहीदहरूको विवरण संकलन गर्ने कार्यदलको जिम्मा दिएको र त्यो कुशलतापूर्वक सम्पन्न गरेको स्मरण गराए ।
पौडेलको संस्मरणात्मक पुस्तकमा लिखु खोला आसपासका घटनाक्रमहरू र कतिपय सुनेजानको विषयहरू समेटिएका छन् । रामेछापको लिखु तामाकोशी २ सैपुका स्थायी बासिन्दा पौडेलको पुस्तक पनि मूलतः सोही सेरोफेरो र ओखलढुंगासँग गाँसिएका घटनाक्रमसँग केन्द्रित छ ।