Trending :
 

देशभर ३ सयभन्दा बढी सिनेमा हल बन्द

जेठ १८,२०८१

-आस्था न्यूज

जेठ १८, २०८१ काठमाडौं ।
देशभरका ३ सयभन्दा बढी सिनेमा हल बन्द भएको पाइएको छ । कुनै समय साढे ४ सयको सङ्ख्यामा रहेका हल यतिबेला घटेर १३८ हाराहारीमा खुम्चिएका छन् ।
 
नेपाल चलचित्र सङ्घका अनुसार अहिले ३०० भन्दा बढी हल बन्द भएका छन् । नेपाल चलचित्र विकास बोर्डका अनुसार नेपालमा ४४२ हल (मल्टिप्लेक्सका प्रत्येक पर्दालाई हलको सङ्ख्यामा गणना गर्दा) सञ्चालनमा थिए ।
 
देशभर ४४२ पर्दा (हल) मा अहिले १३८ पर्दामात्र सञ्चालनमा रहेको नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले बताए । बन्द भएका सबै हल एकै समय बन्द नभई कुनै हल कोरोनाका कारण बन्द  भएका र कुनै त्यसभन्दा अगाडि र पछाडि बन्द भएको उनको भनाई छ ।
 
व्यवसायको अभावले ती हल बन्द भएको उनको भनाइ छ । हलको सङ्ख्या यसरी घट्नु भनेको चिन्ताको विषय रहेको उनले बताए ।