Trending :
 

टी-२० विश्वकपमा क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

जेठ २०,२०८१

-आस्था न्यूज

जेठ २०, २०८१ काठमाडौं ।
आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडाले घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।
 
डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनायो ।
 
क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए । श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा नट आउट रहे ।
 
क्यानडालाई ओपनर आरोन जोनसन र नवनित धालिवालले ५.२ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । जोनसन १५ बलमा ५ चौकासहित २३ रनमा नितेश कुमारबाट लङअफमा क्याच आउट भए । उनी स्पिनर हरम्रीत सिंहको स्लो बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट हुन पुगे ।
 
परग्रत सिंह भने ५ रनमै रन आउट भए । त्यो समय क्यानडा ८ ओभरमा ६६-२ को अवस्थामा थियो । त्यसपछि तेस्रो विकेटका लागि निकोलस किर्टोन र धालिवालले ३७ बलमा ६२ रनको साझेदारी गरेका थिए । धालिवाल कोरी एन्डरसनको बलमा जसदीप सिंहबाट क्याच आउट भएका थिए ।
 
अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एकरएक विकेट लिए । समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् ।