Trending :
 

हाफ पाइन्ट लगाएको भन्दै मेरो चालकलाई सिंहदरबार छिर्न दिइएन्ः सांसद न्यौपाने

सांसद र जनतालाई संसद् भवन र सिंहदरबारमा एउटै व्यवहार हुनुपर्ने माग

जेठ २०,२०८१

-आस्था न्यूज

जेठ २०, २०८ काठमाडौं ।
नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसद् र सिंहदरबारमा सबैलाई समान व्यवहार हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले सांसद र जनतालाई संसद् भवन र सिंहदरबारमा फरक व्यवहार भएको बताइन् । 
 
‘दूर दराजका जनताहरू काठमाडौँ आउन पनि गाह्रो हुन्छ । काठमाडौँ आएका जनताहरू संसद् भवन हेर्न चाहन्छन् । संसद् भवनमा आएर माथि (बालकुनी) जान लाग्दा रोकिन्छ । कारण के रहेछ भनेर मैले साध्दा ‘खुट्टामा चप्पल लगाएका छन् । त्यसैले रोकियो’ । माथि जान पाइँदैन भनिन्छ,’ उनी भन्छिन् ।
 
सांसदलाई चप्पल लगाएर संसद्को बैठकमा सहभागी हुन छुट भएपनि जनतालाई चप्पल लगाएको भन्दै कालकुनीमा रोक्नु राम्रो नभएको उनको भनाइ थियो । ‘सरकारको नियम होला भनेर म मौन बसे । मैले संसदमा पुरुष माननीयको खुट्टामा हेर्दा चप्पल देखेँ । हामीलाई सबै छुट । जनतालाई बन्देज । नियम बनाउने हामी माननीयले जस्तो लगाएर आएपनि भयो । बिचारा जनताहरू चप्पल लगाएर संसद्को बालकुनीमा जान नापाउने ? सिंहदबारमा हाफ पाइन्ट लगाएर छिर्न नपाउने ?,’ उनको प्रश्न छ ।
 
सांसद न्यौपानले आफू चढेको मोटरसाइकलको चालकले हाफ पाइन्ट लगाएको भन्दै सिंहदरबारमा रोकेको विषयमा पनि प्रश्न उठाएकी छन् । ‘अस्ति एउटा घटना घट्यो । म सिंहदरबारमा एउटा भाइको बाइक लिएर जाँदै थिएँ । मैले मेरो आइडी पनि देखाएँ । भित्र गएँ । तर प्रहरी दगुरीकन मेरो पछाडि आयो । मैले बाइक रोक्न लगाएँ,’ उनले भनिन् ।
 
सिंहदरबारमा हाफ पाइन्ट लगाएको मान्छेलाई प्रवेश गर्न नदिनुको कारणबारे सरकारको जवाफ चाहिएको न्यौपानेले बताइन् । ‘पछि मैले सोधे किन यसरी दगुरिराख्नु भएको छ ? प्रहरीले माननीयजी तपाईँलाई रोकेको होइन त्यो भाइ (बाइक चालक) लाई रोकेको हो । भाइलाई किन रोक्नु भयो भन्दा त्यो भाइले हाफ पाइन्ट लगाएको छ । सिंहदरबारभित्र जान पाउँदैन भन्ने जवाफ आयो । यसको कारण के हो सभामुखमार्फत सरकारको जवाफ चाहन्छ,’ उनी भन्छिन् ।