गिरिबन्धु र टेरामक्सका फाइल पनि खोलौंः सांसद मनिष झा
-आस्था न्यूज
जेठ २०, २०८ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरिबन्धु टी इस्टेटलगायत सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता समेत रहेका सांसद मनिष झाले बालमन्दिरको जग्गा दुरुपयोग, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरणलगायतका अनियमितताका फाइल पनि खोल्ने बताए ।
‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्स यो सबैको फाइल हामी खोल्न चाहन्छौं’ उनले भने । विगतमा यी विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको उनले दाबी गरे ।
रास्वपा राजनीतिमा आएको २३ महिना र संसदमा प्रवेश गरेको १७ महिना भएको स्मरण गर्दै उनले सरकारमा पनि दुई पटक गरेर १२२ दिन रहेको बताए । यो अवधिमा आफूहरु सक्दो राम्रो गर्ने प्रयासमा रहेको सहप्रवक्ता झाको जिकिर छ ।
सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग राखेर संघीय संसदमा भएको अवरोधको विषय पनि उनले सम्झिए । आफूहरुले व्यक्ति केन्द्रित भएर समिति नबनाऔं भनेको तर, सबै प्रकारको छानबिनका लागि तयार रहेको आफूहरुको धारणा रहेको उनको भनाइ छ ।
आफूहरु राजनीतिमा केही गर्न आएको दाबी गर्दै उनले रास्वपाले नै सबै बिगारेको रुपमा नलिन आग्रह गरे ।