Trending :
 

गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जेठ २१,२०८१

-आस्था न्यूज

जेठ २१, २०८१  काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
 
आर्थिक वर्ष २०७५/०७६ देखि ०७९/०८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेण्डर लगाउँदा सरकारी दर भन्दा कमगरी एक अर्ब चार करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको अभियोग उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।
 
महर्जनसहित तत्कालीन प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि र ठेकेदारसमेतलाई अख्तियारले प्रतिवादी बनाएको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले राजस्व चुवाहट गरी खानीजन्य पदार्थका रुपमा रहेका ढुंगागिट्टी बालुवासहितका बस्तु सरकारी दररेट कममा ठेक्का लगाइ हिनामिना गरेको कसुरमा अख्तियारले मुद्दा दायर गरेको बताए ।
 
प्रतिवादी बनाइएका मेयर महर्जन नेपाली कांग्रेसबाट निर्वाचित हुन् । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।