लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, माओवादीकी कृष्णा केसी बनिन् ऊर्जामन्त्री
-आस्था न्यूज
जेठ २१, २०८१ काठमाडौं ।
लुम्बिनी प्रदेश सरकारमा १२औं मन्त्रीका रुपमा कृष्णा केसी थपिएकी छन् । यसअघि १० वटा मन्त्रालय रहेकामा भागबण्डा मिलाउन सरकारले मन्त्रालय संख्या १२ पुर्याएको थियो ।
सोमबार मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । केसी नेकपा माओवादी केन्द्रबाट बाँके निर्वाचन क्षेत्र नं १ को ९१० बाट निर्वाचित भएकी हुन् ।
२३ चैतमा मुख्यमन्त्री नियुक्त महराले १२ वैशाखमा मन्त्रिपरिषद विस्तार गर्दा ऊर्जा मन्त्रालय आफैंसँग राखेका थिए ।नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १–१ मन्त्री छन् । एक जना स्वतन्त्र सांसद पनि मन्त्री भएका छन् ।