Trending :
 

अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्न ३७४ शय्या सुनिश्चित

जेठ २२,२०८१

-आस्था न्यूज

जेठ २२, २०८१ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका ३७४ शय्या सुनिश्चित भएको छ ।
 
निजी अस्पतालले विपन्न, बेवारिसे र असहाय बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य एवं निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने महानगरपालिकाको प्रावधानअनुसार अस्पतालले उक्त शय्या विपन्न र असायका लागि छुट्याएका हुन् ।
 
महानगर स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार विसं २०८० फागुनबाट सुरु गरिएको उक्त सेवाबाट अहिलेसम्मा ७० बिरामी लाभान्वित भइसकेका छन् ।
 
यसरी सेवा लिन आउनेमा काठमाडौं उपत्यकाको भन्दा पनि उपत्यका बाहिरका नागरिक बढी रहेको उनले जानकारी दिए । कानुनी व्यवस्थालाई निजी अस्पतालले अटेर गरेपछि महानगरले निःशुल्क स्वास्थ्य उपचारसम्बन्धी कार्यविधि, २०८० पास गरेर उक्त व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको हो ।
 
महानगरले कुन अस्पतालमा शय्या उपलब्ध छ? र कुन सेवा प्राप्त गर्न सकिन्छ ? भनेर विस्तृत विवरण अनलाइनबाटै पाउन सकिनेगरी व्यवस्था गरिसकेको छ ।
 
निःशुल्क उपचार सेवा लिएकामध्ये केही निको भएर घर फर्किसकेका छन् भने केही उपचाररत रहेको महानगरले जानकारी दिएको छ ।
 
यसरी सेवा लिनेमा नाक, कान, घाँटी र मिर्गौलाका बिरामी बढी रहेका छन् । त्यस्तै दम, क्षयरोग छाती र आँखासम्बन्धी सेवा लिएका बिरामी रहेको पनि श्रेष्ठले जानकारी दिए ।
 
उपचार लिनका लागि समस्या भए वा थप जानकारी आवश्यक परेमा कामपाको स्वास्थ्य विभागमा वा महानगरको हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिने श्रेष्ठको भनाइ छ ।
 
निःशुल्क उपचार सेवाका लागि चाहिने कागजात
 
सरकाररप्रदेश सरकाररस्थानीय सरकारले लक्षित वर्ग हो भनी जारी गरेको कागजातरपरिचयपत्र, त्यस्तै राष्ट्रिय परिचयपत्ररनेपाली नागरिकता प्रमाणपत्ररजन्मदर्ता प्रमाणपत्र प्रतिलिपि र हालसालै खिचिएको फोटो, रोग पहिचान भएमा सोको कागजपत्र, सम्बन्धित स्थानीय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची-४ अनुसारको सर्जमिन गरेको कागज र सम्बन्धित स्थानीय तहको वडा कार्यालयले उपचारको लागि अनुसूची-३ अनुसारको सिफारिस गरेको पत्र आवश्यक पर्ने बताइएको छ ।
 
बेवारिसे बिरामीको हकमा आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिब, विपन्न तथा बेवारिसे बिरामीलाई प्रारम्भिक स्वास्थ्योपचार निःशुल्क प्रदान गर्नुपर्नेछ ।