सिन्धुलीमा पक्की पुलको फर्मा खसेर चोट लाग्दा चार जना घाइते
-आस्था न्यूज
जेठ २२, २०८१ काठमाडौं ।
सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित क्यान खोलामा निर्माण गरिएको पक्की पुलको फर्मा खसेर चोट लाग्दा चार जना घाइते भएका छन् ।
घाइतेहरुमध्ये दुई जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य छ ।
घाइते हुनेहरुमा पर्साको बहुदरमाई नगरपालिका-५ बस्ने ३३ वर्षीय मनोज महतो, सोही ठाउँका ४५ वर्षीय अमलदेव महतो र विनोद महतो तथा सिन्धुलीको हरिहरपुरगढी-७ का ५० वर्षीय मदन घलान छन् । मनोज र अमलदेवको अवस्था मध्यम छ भने विनोद र मदनको अवस्था सामान्य छ ।
वडा अध्यक्ष बिचबहादुर मोक्तानले ढलान गरिएको पुलको फर्मा खोल्ने क्रममा कामदारहरु घाइते भएको बताए । ‘पुलको केही भागको फर्मा खोलिसकेको थियो, केही खोल्न बाँकी थियो, त्यही खोल्ने क्रममा चार जना घाइते भएका हुन्,’ वडाअध्यक्ष मोक्तानले भने, ‘घाइते भएकाहरुको हात, खुट्टा र ढाडमा चोट छ ।’
आज बिहान साढे १० बजेतिर भएको यो घटनामा घाइते भएका सबैलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्ज लगिएको छ ।
घटनास्थलमा प्रहरी टोली खटिएर घाइतेहरुको उपचारमा ठेकेदारसँग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।