सामाजिक सुरक्षा भत्ता वितरणको आधार परिमार्जन गर्नुपर्नेमा सांसदहरुको जोड
-आस्था न्यूज
जेठ २२, २०८१ काठमाडौं ।
सांसदहरूले सामाजिक सुरक्षा भत्ता वितरणको आधार परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै कतिपय सांसदले अवस्था र आवश्यकतालाई हेरेर यसलाई पुनरावलोकन गर्नुपर्ने बताएका हुन् ।
नेकपा एमालेकी सचेतक सुनिता बराल सामाजिक सुरक्षा भत्ता वितरणको आधार परिमार्जन गर्नुपर्ने बताउँछिन् ।
‘सामाजिक सुरक्षा भत्ता हाम्रो यो व्यवस्थाकै एउटा सुन्दर पक्ष हो । तर हाम्रो आर्थिक अवस्था र अहिलेको परिस्थितिलाई हेर्दा आवश्यकताका आधारमा कसरी वितरण गर्ने भन्ने कुराको पुनर्विचार गर्नुपर्ने हो कि १ यसका आधार केही परिमार्जन गर्नुपर्ने हो कि !’ सचेतक बरालले भनिन् ।
नेपाली कांग्रेसका सांसद जीवन परियारले पनि सम्पन्न र विपन्नलाई एकै किसिमको सामाजिक सुरक्षा भत्ता दिने विषय न्यायोचित नरहेको बताए।
‘गरिब जसको राम्रो बसोबास छैन, बिहान बेलुकी छाक टार्न सक्दैनन्, जसको स्वास्थ्य उपचार गर्न सक्ने अवस्था छैन तिनले चार हजार पाउँछन् । जो सुविधा सम्पन्न छ, मासिक आम्दानी लाखौं छ उसले पनि त्यति नै पाउँछ । यसकारण अवस्था र आवश्यकतालाई हेरेर यसलार्ई पुनरावलोकन गर्नुपर्छ’ उनले भने ।