Trending :
 

लोकसभा निर्वाचन परिणामः एनडीए गठबन्धन २९२ र इन्डिया गठबन्धनलाई २३४ सिट प्राप्त

जेठ २३,२०८१

-आस्था न्यूज

जेठ २३, २०८१ काठमाडौं ।
भारतको लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । गएराति सम्पन्न मत गणनामा एनडीए गठबन्धनले २९२ र इन्डिया गठबन्धनको २३४ सिट प्राप्त गरेका छन् ।
 
जसमा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपा यस पटक २४० सिटमा समेटिएर एकल बहुमत गुमाएको छ ।
 
भाजपा एक्लै बहुमतबाट चुकेपनि भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ ।
 
एनडीए अन्तर्गतको तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । एनडीए अन्तर्गतका अन्य दलले २४ सिट जितेका छन् ।
 
अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु नायडु र विहारका नितिश कुमार निर्णायक बनेका छन् ।
 
त्यस्तै यस निर्वाचनमा भारतीय नेशनल कांग्रेसले ९९ सिटमा जित हासिल गरेर दोस्रो ठूलो दल बनेको छ । यसअघि सन् २०१९ को निर्वाचनमा कांग्रेसले ५२ सिट जितेको थियो ।
 
त्यस्तै समाजवादी पार्टीले उत्तर प्रदेशमा ३७ सिट जितेर तेस्रो ठूलो दल बनेको छ । अघिल्लो निर्वाचनमा केवल ५ सिट जितेको थियो ।
 
त्यस्तै पश्चिम बङ्गालको ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेसले २९ सिट जितेर संसदमा चौथो ठूलो दल बनेको छ । यसैगरी डिएमके पार्टीले २२ सिट जितेको छ । इन्डिया गठबन्धनमा रहेका अन्य दलले ४७ सिटमा जित हासिल गरेका छन् ।
 
यस्तै, एनडीए र इन्डिया गठबन्धनबाहेक विभिन्न दलले १७ सिट जितेका छन् । ५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।
 
एनडीए र इन्डिया गठबन्धनमा २४–२४ दल आबद्ध छन् ।