Trending :
 

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धीको स्थिति सुधार गर्न पञ्चवर्षीय रणनीति तयार

जेठ २३,२०८१

-आस्था न्यूज

जेठ २३, २०८१ काठमाडौं । 
सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीति बनाएको छ ।
 
अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको छ । अब मन्त्रिपरिषद्‍ले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ ।
 
समितिमा कानुनमन्त्री पदम गिरी मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महान्यायाधिवक्ता दिनमणि पोखरेल सदस्य छन् ।
 
निर्देशक समिति अन्तर्गतको समन्वय समितिका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी कानुन हेर्ने सचिव लिला गर्तौला र निर्देशक समितिका सदस्यसचिव एवम् अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरे समेत यस बैठकमा सहभागी थिए ।
 
यो रणनीति आर्थिक वर्ष ०८१/८२ बाट कार्यान्वयनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । रणनीतिले मुलुकको वित्तीय प्रणाली र समग्र अर्थतन्त्रलाई वित्तीय अपराधको जोखिमबाट संरक्षण गरी स्थायित्व प्रदान गर्ने विषयलाई जोड दिएको अर्थ मन्त्रालयका सहसचिव एवम् आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यले जानकारी दिए ।
 
उनका अनुसार भ्रष्टाचार, राजस्व छली, हुन्डी र क्रिप्टो करेन्सीको कारोबारजस्ता वित्तीय अपराध न्यूनीकरणमा काम गर्नेछ ।
 
यस्तै लागूऔषध ओसारपसार, संगठित अपराध, आपराधिक लाभ, आन्तरिक आतंकवाद, ठगी, चोरी, नक्कली मुद्राको कारोबार, कालोबजारी तथा तस्करी, किर्तेलगायतका अपराध नियन्त्रणजस्ता विषय पनि रणनीतिमा समावेश छन् ।