Trending :
 

श्रमाधान मेलाले रोजगारदाता र श्रमिक बीचको खाडल पुर्ने मन्त्री अर्यालको भनाई

जेठ २३,२०८१

-आस्था न्यूज

जेठ २३, २०८१ काठमाडौं । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रोजगारदाता र श्रमिक बीचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् ।
 
बुधबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजागर मेलाको आयोजना गरिएको बताए ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रा्लय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय, बुटवल उपहानगरपालिका र नेपाल उद्योग परिसंघ (सीएनआई) को संयुक्त रूपमा लुम्बिनी प्रदेशमा बुधबारदेखि मेलाको सुरुवात गरिएको छ ।
 
उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले रोजगारदाताले दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने र श्रम बजारमा आएका युवाले रोजगारी नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्न आवश्यक भएको बताए ।
 
यसखालको समस्या समाधानमा यो मेलालाई भरपूर्ण प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् ।
 
‘यो मेलाबाट रोजगारदाता र श्रमिकबीच सम्बन्ध विस्तार हुनेछ । मेलाबाट तुरून्तै यति संख्यालाई रोजगारी दिन्छौ भन्ने भन्दा पनि दीर्घकालसम्म नेपालका उद्योग प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्तिको यथार्थ विवरण र रोजगारीमा चाहेकाले कस्तो सीप चाहिँदो रहेछ भन्ने जानकारीका लागि धेरै महत्वपूर्ण हुनेछ,’ उनले भने ।
 
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मन्त्रालयका सचिव लालबाबु कवारीले यस मेलालाई रोजगारदाता र श्रमिकको सम्बन्ध विस्तारका लागि उपयोग गर्न सकिने बताए ।
 
यस मेलाले हाल स्वदेशमा रोजगारी नपाएर विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि तत्काल परिणाममा नदेखिए पनि दीर्घकालसम्म राम्रो परिणाम दिने उनले बताए ।
 
लुम्बिनी प्रदेश रोजगार मेला बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) भएको छ । मेला २३ र २४ जेठ दुई दिनसम्म चल्नेछ ।