Trending :
 

सहकारी ठगी प्रकरणः दुई दिनभित्र कार्यविधि बनाउने छानबिन समितिको निर्णय

जेठ २३,२०८१

-आस्था न्यूज

जेठ २३, २०८१ काठमाडौं । 
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय गरेको हो । 
 
कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ । समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा बसेको थियो । बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरूका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्ताबेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गरेका थिए । 
 
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति सुर्य थापाले तोकिएकै समयमा अनुसूची भित्रका सहकारीहरूमा केन्द्रित भएरै काम सम्पन्न गर्नेगरी छलफल भएको जानकारी दिए । उनले समिति सदस्यहरूले तीन महिनाभित्र अहोरात्र काम गरेर भएपनि काम सक्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै समितिको प्रतिबद्धता पनि त्यही रहेको बताए ।