Trending :
 

टी-२० विश्वकपमा आज युगान्डा र पीएनजीबिच खेल हुँदै

जेठ २३,२०८१

-आस्था न्यूज

जेठ २३, २०८१ काठमाडौं । 
आईसीसी टी-२० विश्वकपको नवौँ संस्करणमा बिहीबार पुपुवा न्यु गिनी (पीएनजी) र युगान्डाबिच खेल हुँदैछ । पीएनजी र युगान्डाबिचको खेल गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स रंगशालामा नेपाली समयअनुसार, बिहान ५ः१५ बजे सुरु हुनेछ ।
 
यी दुवै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का एसोसिएट्स सदस्य राष्ट्र हुन् । आईसीसीद्वारा सार्वजनिक गरिएको पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा पपुवा न्यु गिनी २०औँ र युगान्डा २२औँ स्थानमा आसीन छन् ।
 
जारी विश्वकपमा युगान्डा र पीएनजी समूह ‘सी’ मा रहेका छन् । उक्त समूहमा वेस्ट इन्डिज, अफगानिस्तान र न्युजिल्यान्ड पनि छन् । विश्वकपको नवौँ संस्करणमा युगान्डा र पीएनजीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।
 
यसअघि खेलिएको आफ्नो पहिलो खेलमा पीएनजीको टोली वेस्ट इन्डिजसँग पाँच विकेटले पराजित भएको थियो । अफ्रिकी राष्ट्र युगान्डालाई भने एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानले एक सय २५ रनको फराकिलो अन्तरले हराएको थियो ।
 
त्यो समूहमा रहेको न्युजिल्यान्डले भने हालसम्म एक खेल पनि खेलेको छैन । पीएनजी र युगान्डा दुवै राष्ट्र छनोट चरणमा अब्बल प्रदर्शन गर्दै यो विश्वकपमा उपस्थित भएका हुन् । पीएनजी पूर्वी एसिया तथा प्यासिफिक क्षेत्रबाट र युगान्डा अफ्रिकी क्षेत्रबाट विश्वकपमा छनोट भएका हुन् ।