Trending :
 

श्रमिकको सुरक्षाका लागि सामाजिक न्यायको आवश्यकतामा जोड दिन जरुरीः आईएलओ

जेठ २४,२०८१

-आस्था न्यूज

जेठ २४, २०८१ काठमाडौं ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का महानिर्देशक गिल्बर्ट एफ हौंग्बोले श्रमको संसारमा देखिएको प्रगति खतरामा पर्न सक्ने चेतावनी दिएका छन् ।
 
जेनेभामा जारी आईएलओको १ सय १२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन उद्घाटन सत्रमा महानिर्देशक हौंग्बोले श्रमिकको सुरक्षाका लागि सामाजिक न्यायको आवश्यकतामा जोड दिनुपर्ने बताए । ‘वर्तमान अवस्थामा श्रमको संसार एउटा द्विविधामा रुमलिरहेको छ,’ उनले भने, ‘सबै क्षेत्रमा महामारीकै पूर्ववत् अवस्थामा देखिएको आर्थिक गतिविधिहरु अलग अलग तहमा देखिएका छन् ।
 
मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकको प्रभावकारी कारबाहीकै कारण सकारात्मक विकासमा योगदान भयो । यसले अहिले श्रमिकको क्रयशक्तिमा देखिएको ह्रासलाई राहत मिल्ने मैले विश्वास लिएको छु,’ उनले भने ।
 
महानिर्देशक हौंग्बोले २०२३ मा देखिएको बेरोजगार दर ०२४ र ०२५ मा केही सुधार हुन सक्ने अनुमान गरेका छन् । विश्व श्रम बजारमा २०२३ मा ५ प्रतिशत बेरोजगार दर थियो । ०२४ र ०२५ मा बेरोजगार दर ४.९ प्रतिशत हुने अनुमान गरिएको छ । ‘एकपछि अर्को संकटको सामना गरिरहेका छौं । केही सकारात्मक र उत्साहपूर्वक प्रगति देखिएको छ’, उनले भने, ‘यी प्रगति खतरामा पर्न सक्छ ।’
 
हौंग्बोले यही समयमा तनावको स्रोत तीव्र गतिमा बढ्दै गएको बताए । ‘मध्यपूर्वको भयावह स्थितिले विद्यमान संकटलाई थप बढाइदिएको छ । गाजा, यमन, सुडान, हैटी, युक्रेन र कंगोमा जारी संघर्ष मानवताको लागि चुनौतीपूर्ण छ । बहुपक्षवादको लागि यो प्रमुख मुद्दा बनिरहेको छ,’ उनले भने । आईएलओको प्रतिवेदन प्रस्तुत गर्दै महानिर्देशक हौंग्बोले सामाजिक न्यायलाई दिगो शान्ति, साझा समृद्धि, समान अवसरहरुका आधार बनाउन फलदायी बहस आवश्यक रहेको बताए ।
 
सम्मेलनमा १ सय ८७ देशका सरकार, रोजगारदाता र श्रमिकका प्रतिनिधिहरु सहभागी छन् । सम्मेलनमा श्रमको संसारलाई दीर्घकालीन प्रभाव पार्नेसम्बन्धी अन्तर्राष्ट्रिय श्रम मापदण्ड, जैविक खतराविरुद्ध सुरक्षा, कार्यस्थलमा मौलिक सिद्धान्त र अधिकारको रणनीति, मर्यादित श्रम र हेरचाह लगायतको विषयमा छलफल भइरहेको छ ।
 
जुन १३ मा सामाजिक न्यायको लागि अन्तर्राष्ट्रिय गठबन्धनको उद्घाटन हुँदैछ । यसमा राष्ट्रपति रामचन्द्र पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोरप्रसाद अर्यालको सहभागिता रहनेछ ।
 
जेनेभामा भइरहेको १ सय १२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन जुन १४ तारिखसम्म चल्नेछ ।