Trending :
 

टी-२० विश्वकपः शनिबार श्रीलंका र बंगलादेशबिच खेल हुने

जेठ २५,२०८१

-आस्था न्यूज

जेठ २५, २०८१ काठमाडौं ।
आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शनिबार दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेशबिच भिडन्त हुँदैछ । खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रेयरी स्टेडियममा नेपाली समय अनुसार, विहान ०६ः१५ बजे सुरु हुनेछ ।
 
श्रीलंका र बंगलादेश प्रतियोगिताको समूह ‘डी’ मा रहेका छन् । त्यो समूहमा नेपाल, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स पनि छन् । यसअघि समूह ‘डी’ को दुई खेल खेलिसकिएको छ । उक्त समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो ।
 
अर्को खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएको थियो । समूह ‘डी’ मा बंगलादेश बाहेक सबै टोलीले एक-एक खेल खेलिसकेका छन् । बंगलादेशले भने एक खेल पनि खेलेको छैन । उक्त समूहमा दुई अंकसहित दक्षिण अफ्रिका पहिलो र समान अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छन् ।
 
अन्य टोलीले भने खाता खोल्न सकेका छैनन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा श्रीलंका आठौँ र बंगलादेश नवौँ स्थानमा छन् । यी दुवै राष्ट्रको वरीयतामा भने खासै अन्तर देखिँदैन ।
 
श्रीलंका अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकपमा छनोट भएको हो । बंगलादेश भने आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा सिधै विश्वकपमा सहभागी भएको हो । श्रीलंका टी-२० विश्वकपको पूर्वविजेता पनि हो ।
 
श्रीलंकाले सन् २०१४ मा सम्पन्न टी-२० विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराएको थियो । यसदेखि बाहेक पनि दुईपटक श्रीलंका टी-२० विश्वकपको फाइनलमा पुगेको थियो ।
 
सन् २००९ मा सम्पन्न टी-२० विश्वकपको फाइनलमा पाकिस्तानले श्रीलंकालाई आठ विकेटले हराएको थियो । त्यसपछि सन् २०१२ मा सम्पन्न टी–२० विश्वकपको फाइनलमा वेस्ट इन्डिजले श्रीलंकालाई ३६ रनले पराजित गरेको थियो ।
 
बंगलादेश भने टी–२० विश्वकपको ‘सुपर–८’ चरणभन्दा अगाडि बढ्न सकेको छैन । बंगलादेश सन् २००७ को टी-२० विश्वकपमा ‘सुपर–८’ चरणसम्म पुगेको थियो । श्रीलंकाले टी-२० विश्वकपमा हालसम्म ५२ खेल खेलिसकेको छ ।
 
त्यमध्ये श्रीलंका ३१ खेलमा विजयी र २० खेलमा पराजित भएको छ । श्रीलंकाको एक खेल बराबरीमा सकिएको छ । बंगलादेशले हालसम्म टी-२० विश्वकपमा ३८ खेल खेलेको छ । बंगलादेश त्यसमध्ये नौ खेलमा जि र २८ खेलमा पराजित भएको छ । बंगलादेशको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।
 
श्रीलंका र बंगलादेशबिच हालसम्म १६ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये ११ खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको छ । बाँकी पाँच खेलमा भने बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ ।
 
टी–२० विश्वकपमा भने हालसम्म श्रीलंका र बंगलादेशबिच दुई खेल खेलिएको छ । ती दुवै खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको छ । सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणमै यी दुई टोलीबिच भिडन्त भएको थियो ।
 
पहिलो संस्करणमा श्रीलंकाले बंगलादेशलाई ६४ रनले पराजित गरेको थियो । त्यसपछि सन् २०२१ को टी–२० विश्वकपमा यी दुई टोलीबिच पुनः भिडन्त भएको थियो । त्यो खेलमा श्रीलंकाले बंगलादेशलाई पाँच विकेटले हराएको थियो ।
 
पछिल्लो समय यी दुवै टोलीको प्रदर्शन उस्तै देखिन्छ । बंगलादेश आफूले खेलेका पछिल्ला पाँचमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ । श्रीलंका पनि पछिल्ला पाँचमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ ।