Trending :
 

प्रतिनिधिसभा बैठक बस्दै, आजदेखि बजेटका शीर्षकहरुमाथि मन्त्रालयगत छलफल हुने

जेठ २७,२०८१

-आस्था न्यूज

जेठ २७, २०८१ काठमाडौं ।
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
 
आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने कार्यसूची रहेको छ ।
 
आज वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
 
बैठकमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।
 
सांसद अमरेश कुमार सिंहले उक्त मन्त्रालयहरु शीर्षकको खर्च रकम घटाइ एक रुपैयाँ गरियोस भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
 
यसैगरी सांसद पुष्पबहादुर शाह, बद्री पाण्डे, रमा कोइराला पौड्यालले पनि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।