Trending :
 

टी-२० विश्वकपः भारतको लगातार दोस्रो जित

जेठ २८,२०८१

-आस्था न्यूज

जेठ २८, २०८१ काठमाडौं ।
आईसिसी टी-२० विश्वकपमा भारतले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको हो ।
 
भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो ।
 
पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । ४४ बलको सामना गरेका उनले एक चौका र एक छक्का प्रहार गरे । त्यस्तै बाबर आजम, फकर जमान, उसवान खानले समान १३ रन बनाए । सादव खान चार रनमा आउट हुँदा इफ्तिखार अहमदले पाँच रन मात्र बनाउन सके ।
 
भारतका लागि जसप्रित बुमराहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । त्यस्तै हार्दिक पाण्डेयाले दुई विकेट लिँदा अक्षर पटेलले एक विकेट लिए ।
 
त्यसअघि न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १९ ओभरमा अलआउट हुँदै ११९ रन बनाएका थियो ।
 
भारतका लागि विकेट किपर ब्याट्सम्यान ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए । ३१ बलको सामना गरेका पन्तले सात चौका प्रहार गरेका थिए ।
 
त्यस्तै ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीको ब्याटिङ भने चल्न सकेन । कोहली केबल ४ रनमा आउट हुँदा रोहितले पनि १३ रन मात्रै जोड्न सके ।
 
अक्षर पटेल १८ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएर आउट भए ।त्यस्तै सुर्यकुमार यादव ७, शिवम दुवे ३, र रविन्द्र जडेजा शुन्य रनमा आउट भए ।
 
पाकिस्तानका लागि नसिम शाह र हरिस रउफले तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका शाहले २१ रन खर्चिएका थिए । त्यस्तै मोहम्मद अमिरको नाममा दुई विकेट रहँदा साहीनशाह अफ्रिदिले एक विकेट लिए ।
 
जितसँगै भारत समूह एको शीर्ष स्थानमा उक्लिएको छ । भने लगातार दुई खेल हारेको पाकिस्तान चौथो स्थानमा छ । यो समूहको दोस्रो स्थानमा अमेरिका, तेस्रो क्यानडा र पाँचौंमा आयरल्याण्ड छन् ।