गाजा क्षेत्रमा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव बहुमतले पारित

जेठ २९,२०८१

-आस्था न्यूज

जेठ २९, २०८१ काठमाडौं ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा गाजा क्षेत्रमा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव अत्यधिक बहुमतले पारित भएको छ ।
 
सुरक्षा परिषदमा रहेका १५ मध्ये १४ सदस्य राष्ट्रले युद्ध विराम गर्ने पक्षमा मतदान गरेका थिए । रुस भने मतदानमा सहभागी भएन ।
 
प्रस्तावमा ‘पूर्ण र पूर्ण युद्धविराम’, हमासद्वारा बन्धकहरूको रिहाई, मृत बन्धकहरूको अवशेष फिर्ता र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका लागि सर्तहरू राखिएका छन् ।
 
संयुक्त राष्ट्रसंघका अनुसार गाजामा तीन चरणमा युद्धविराम लागु गर्ने उल्लेख छ । ती शर्तहरु कतारमार्फत् हमाससमक्ष पठाइएको छ ।
 
इजरायलले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको र हमासलाई पनि यसमा सहमत हुन आग्रह गरेको प्रस्तावमा उल्लेख छ ।
 
पहिलो चरणमा बन्धक बनाइएकालाई रिहा गर्ने तथा ज्यान गुमाइसकेको शव फर्काउने, इजरायली सेना गाजा क्षेत्रबाट हट्न सुरु गर्ने, विस्थापित भएकाहरुलाई घर फर्किन दिने प्रस्ताव छ ।
 
यसैगरी, दोस्रो चरणमा कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्णरुपमा हट्ने तथा तेस्रो चरणमा गाजामा पुनर्निर्माणको काम सुरु गर्ने उल्लेख छ ।
 
गत अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा एक्कासि आक्रमण गर्दा करिब १२ सय मानिस मारिएका थिए । यस्तै २५० बढी मानिसको अपहरण भएको थियो ।
 
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आक्रमणको जवाफ दिएपछि गाजामा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको जनाएको छ।