‘श्रमाधान रोजगार मेला’ ललितपुरमा आजदेखि
-आस्था न्यूज
जेठ २९, २०८१ काठमाडौं ।
ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ शुरु हुँदैछ । पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ । मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घले गरेका छन् ।
भोलिसम्म चल्ने मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवम् बाग्मती प्रदेशको श्रमाधान रोजागार मेलाका संयोजक डम्बर सुनुवारले जानकारी दिनुभयो । सरकारले रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले देशका सात वटै प्रदेशमा मेला गरेको हो ।
यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेला सम्पन्न भइसकेको छ । गएको १७ गतेदेखि शुरु भएको श्रमाधान रोजगार मेलाको भोलि समापन हुनेछ ।