Trending :
 

भारत सरकारको विदेशमन्त्रीको रूपमा एस.जयशंकरको पुनः पदभार ग्रहण

जेठ २९,२०८१

-आस्था न्यूज

जेठ २९, २०८१ काठमाडौं ।
भारत सरकारको विदेशमन्त्रीको रूपमा एस। जयशंकरले पुनः पदभार ग्रहण गरेका छन् ।
 
दोस्रो कार्यकालमा विदेशमन्त्री बनेका जयशंकरले आज मन्त्रालयमा पदभार ग्रहण गरेपछि नेपाली समकक्षी उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ बधाई दिएका छन् ।
 
श्रेष्ठले नेपाल-भारत बिचको न्यानो र घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको एक्समार्फत जनाएका छन् ।
 
जवाफमा जयशंकरले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई धन्यवाद दिँदै नेपाल–भारतको प्रगतिका लागि मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
 
जयशंकर सन् २०१९ मा पहिलो पटक विदेशमन्त्री चयन भएका थिए । विदेश सचिवबाट अवकाश लिएपछि उनी मन्त्रीमा नियुक्त भएका हुन् । भारतमा उनलाई सफल कूटनीतिज्ञ मानिन्छ । त्यही भएर प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई दोस्रो कार्यकालमा पनि मन्त्रीको रूपमा समेटेका हुन् । 
 
नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री भएको बेला चीन भ्रमणमा जाँदा जयशंकर त्यहाँ भारतीय राजदूत थिए । जयशंकरसँग मोदीको पहिलो भेट त्यहीँ भएको थियो ।
 
सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि मोदी अमेरिकाको भ्रमणमा जाँदा जयशंकर त्यहाँका लागि भारतीय राजदूत थिए । अमेरिकामा मोदीको कार्यक्रमलाई भव्य रूपमा सफल बनाउनमा जयशंकको मुख्य भूमिका थियो । त्यहीबाट प्रधानमन्त्री मोदी जयशंकरबाट प्रभावित भएका थिए ।
 
जयशंकर अमेरिकाबाट फर्केपछि विदेश सचिव भएका थिए । त्यसपछि दुवै जनाको बिचमा लामो समय सहकार्य भयो । दुवै जनाले विभिन्न मिसनमा मिलेर काम गरेका थिए ।
 
सचिवबाट हट्ने बित्तिकै प्रधानमन्त्री मोदीले जयशंकरलाई राज्य सभाको सदस्य बनाएर विदेश मन्त्रीमा नियुक्त गरेका थिए । 
 
जयशंकर मन्त्री भएपछि पनि पटक पटक नेपालका भ्रमण गरेका छन् ।