Trending :
 

किसानले पाउने अर्बौंको अनुदान बिचौलिया र नेताले खाइदिने गरेको सांसद राणाको भनाई

जेठ २९,२०८१

-आस्था न्यूज

जेठ २९, २०८१ काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद डा. धवल शमशेर राणाले किसानले पाउनुपर्ने अर्बौं रुपैयाँको अनुदान बिचौलिया र राजनीतिक दलका नेताहरूले खाइदिने गरेको बताएका छन् । 
 
मंगलबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत रुममा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद राणाले आफू नेपालगञ्जमा नगरप्रमुख भएको बेला अनुगमन गरेर मात्र अनुदान दिएको बताए । 
 
उनले भने,‘कृषि अनुदानको कुरा गर्नुभयो भने बिचौलियाले सबै खाइदिन्छ । मैले नेपालगञ्ज उपमहानगरपालिका प्रमुख हुने क्रममा अनुदान खाइदिने कुरा थाहा पाइसकेपछि खेतमा बाली हेरेर मात्रै अनुदान दिने व्यवस्था मिलाएको थिएँ । यो देशमा किसानका अर्बौं रुपैयाँ बिचौलियाले खाइदिन्छन्, नेताहरूले खाइदिन्छन् । किसानसम्म त अनुदान नै पुग्दैन ।’
 
अहिले माछा पालन र कुखुरा पालन गर्ने किसानहरू मारमा परेको उनले बताए । कृषि क्षेत्रमा प्रयोग हुने विद्युत् महशुलमा सुविधा दिनुपर्ने उनले बताए । सिक्टा सिँचाइ आयोजना बनेको ५ वर्ष भएपनि सिँचाइ सुविधा विस्तारका लागि शाखा नहर नबनाएको र शाखा नहर नभए कृषकको खेत सुख्खा रहिरने उनले बताए । सिक्टा आयोजनालाई राष्ट्रिय गर्वको योजना भनेपनि धेरैवटा मुद्दा मामिलामा अल्झिएको उनले उल्लेख गरे ।