Trending :
 

टी-२० विश्वकपमा नामिबियालाईहराउँदै अस्ट्रेलिया ‘सुपर–८’ मा

जेठ ३०,२०८१

-आस्था न्यूज

जेठ ३०, २०८१ काठमाडौं ।
आईसीसी टी-२० विश्वकप क्रिकेटको बुधबार खेलिएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ । जितसँगै अस्ट्रेलिया नवौँ विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने दोस्रो टोली पनि बनेको छ ।
 
यसअघि बुधबार नै समूह ‘डी’ बा दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुगिसकेको छ । क्यारेबियन राष्ट्र एन्टिगुआको सर भिभियन रिचर्डस स्टेडियममा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमै अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो ।
 
नामिबियाका लागि कप्तान जेरहार्ड एरास्मसले सर्वाधिक ३६ रन बनाएका थिए । ओपनर माइकल भान लिङ्गेनले १० रन जोडे । नामिबियाका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नामिबियाले अतिरिक्त रुपमा पनि नौ रन पाएको थियो ।
 
अस्ट्रेलियाका बलर एडम जाम्पा एक्लैले चार विकेट लिए । उनले चार ओभरमा केवल १२ रन खर्चिएका थिए । जस हेजलउड र मार्कुस स्टोइनिसले पनि दुई–दुई विकेट हात पारे । प्याट कुमिन्स र नाथन एलिसले पनि एक–एक विकेट लिए ।
 
सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ५।४ ओभरमा केवल एक विकेट गुमाएर ७४ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो । अस्ट्रेलियाको जितमा ओपनर ब्याट्सम्यान डेभिड वार्नरले २० रनको योगदान गरे । उनले केवल आठ बलमा एक छक्का र तीन चौका हिर्काए ।
 
अर्का ओपनर ट्राभिस हेडले पनि टोलीका लागि अविजित ३४ रनको योगदान गरे । उनले केवल १७ बलमा दुई छक्का र पाँच चौका पनि प्रहार गरे । कप्तान मिचेल मार्सले पनि टोलीको खातामा अविजित १८ रन थपे । उनले नौ बलमा एक छक्का र तीन चौका हिर्काए । नामिबियाका बलर डेभिड विसेले एक विकेट लिए ।
 
समूह ‘बी’ मा रहेको अस्ट्रेलियाले हालसम्म आफूले खेलेको तीन वटै खेलमा जित हात पारेको छ । अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले र दोस्रो खेलमा साबिक विजेता इङ्गल्यान्डलाई ३६ रनले हराएको थियो ।
 
अस्ट्रेलिया तीन खेलबाट ६ अङ्क बटुल्दै तालिकाको पहिलो स्थानमा उक्लिएको छ । तीन खेलबाट पाँच अङ्क बटुलेको स्कटल्यान्ड तालिकाको दोस्रो स्थानमा छ । तीन खेलबाट दुई अङ्क हात पारेको नामिबिया तेस्रो स्थानमा छ ।
 
दुई खेलबाट एक अङ्क जोडेको इङ्गल्यान्ड भने चौथो स्थानमा आसिन छ । साबिक विजेता इङ्गल्यान्डको अघिल्लो चरणको यात्रा निकै कठिन देखिएको छ । आफूले खेलेको तीन वटै खेलमा पराजित भएको ओमान भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।