Trending :
 

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

जेठ ३०,२०८१

-रासस

जेठ ३०, २०८१ काठमाडौं ।
जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।   
 
बेनी बजारदेखि १२.५ किलोमिटर मङ्गला गाउँपालिका-२ सिमसम्म कालोपत्र गरिएको छ ।  सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत- बाबियाचौर- लाम्पाटा-पानाबगर हुदै रणवाङको सिमानासम्म पुर्याएको छ । 
 
पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर-ओमबुद्ध जेभीसँग रु. १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।
 
चौबिस किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो ।