नेपालबाट ४० मेगावाट विद्युत् लैजाने प्रस्तावलाई बगलादेशको मन्त्रिमण्डलीय समितिबाट स्वीकृत
-आस्था न्यूज
जेठ ३०, २०८१ काठमाडौं ।
बगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।
बैठकपछि मन्त्रिपरिषद् विभाग (समन्वय र सुधार)का सचिव मोहम्मद हुसेन खानले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेसहित १५ वटा प्रस्ताव स्वीकृत गरेको पत्रकारहरूलाई जानकारी दिएका हुन् ।
‘विद्युत् विभागको प्रस्तावपछि बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेछ,’ उनले भने, ‘एनटीपी विद्युत् व्यापार निगम (एनभीभीएन) नेपाल विद्युत् प्राधिकरण र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता पछि मात्रै विद्युत् आयात सुरु हुनेछ ।’
प्रतियुनिट ८.१७ बंगलादेशी टाका (९ रुपैयाँ ३० पैसा)मा विद्युत् आयात गरिने बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् । भारतीय ग्रिड प्रयोग गरी नेपालबाट बिजुली आयात गर्नु पर्ने भएकाले भारतलाई प्रतियुनिट ०.०५९ रुपैयाँ व्यापारिक मार्जिन तिर्नुपर्ने खानले बताएका छन् । बंगलादेशले भारतलाई प्रसारण लाइन प्रयोगबापतको शुल्क तिर्नुपर्ने भए पनि मूल्य तय भइनसकेको उनले बताएका छन् ।