Trending :
 

जारी प्रथम यू-१५ विद्यालय खेलकुद प्रतियोगितामा एथ्लेटिक्सतर्फ गण्डकी टिम च्याम्पियन

जेठ ३१,२०८१

-आस्था न्यूज

जेठ ३१, २०८१ काठमाडौं ।
गण्डकी प्रदेश पोखरामा भइरहेको प्रथम यू-१५ विद्यालय खेलकुद प्रतियोगिता एथ्लेटिक्सतर्फ गण्डकी टिम च्याम्पियन बनेको छ ।
 
गण्डकीले एथ्लेटिक्समा ४ स्वर्ण, ३ रजत र २ कांस्य पदकसहित ९ पदक जितेर टिम च्याम्पियन भएको हो ।
 
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगितामा लुम्बिनी प्रदेश ३ स्वर्ण,  २ रजत र ६ कांस्यका साथ  दोस्रो भयो । तेस्रो स्थानको कर्णाली प्रदेशले ३ स्वर्ण, २ रजत र १ कांस्य हात पार्‍यो ।
 
सहभागी सातै प्रदेश स्वर्णविहीन हुनु परेन । १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशले समान एकरएक स्वर्ण जिते ।
 
पोखरा रंगशालामा भएको छात्र ४ गुणा १०० मिटर रिलेमा लुम्बिनी पहिलो, गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो भए । सो स्पर्धाको छात्रामा गण्डकीले स्वर्ण, कोशीले रजत र कर्णालीले कांस्य जिते ।
 
सटपुटको छात्रमा कोशीका छिरिङ शेर्पा पहिलो भए । उनले १०.५७ मिटर टाढा फाले ।
 
गण्डकीका गणेश श्रेष्ठ दोस्रो तथा लुम्बिनीका पारसबहादुर शाही तेस्रो स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा ८.३७ मिटर थ्रो गरेकी लुम्बिनीकी सम्झना थारु पहिलो भइन् । कर्णालीकी उर्मिला राजी दोस्रो तथा गण्डकीकी युना सारु मगर तेस्रो बने ।
 
छात्रको ८ सय मिटर दौडमा बागमतीका सुनिल विक पहिलो बने । उनले निर्धारित दूरी २ मिनेट ०९.६३ सेकेन्डमा पूरा गरे । कर्णालीका अनिल शाही दोस्रो तथा लुम्बिनीका विशाल थारु तेस्रो भए । सो स्पर्धाको छात्रामा कर्णालीकी पूर्णिमा बुढाले निर्धारित दूरी २ मिनेट ३६.२६ सेकेन्डमा तय गर्दै स्वर्ण  चुमिन् । गण्डकीकी कञ्चन भण्डारी दोस्रो तथा मधेशकी आशा साह तेस्रो भए ।
 
छात्रको २ सय मिटर दौडमा गण्डकीका सुशान्त बोटेले स्वर्ण जिते । उनले निर्धारित दूरी २४.३३ सेकेन्डमा पूरा गरे ।
 
लुम्बिनीका अभय राना दोस्रो तथा बागमतीका अजित ठाकुर तेस्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा गण्डकीकी अनुष्का अधिकारी पहिलो भइन् ।
 
अनुष्काले निर्धारित दूरी २७.६२ सेकेन्डमा पूरा गरिन् । सुदूरपश्चिमकी रितु जोशी दोस्रो तथा लुम्बिनीकी जमुना लोध तेस्रो भए ।
 
विजेतालाई प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य(सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी, राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए ।