Trending :
 

समाजलाई मान्य हुनेगरी टिकटक लगायतका सामाजिक सञ्जाल चलाउदा कुनै आपत्ति छैनः मन्त्री शर्मा

जेठ ३१,२०८१

-आस्था न्यूज

जेठ ३१, २०८१ काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुने गरी टिकटक लगायतका कुनै पनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन् । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । 
 
उनले समाजमा अमर्यादित गतिविधिलाई महत्त्व दिनेगरी टिकटकमा सामग्रीहरू उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानुनी रूपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन् । सरकारले नेपाल टेलिकम लगायतका ठुला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको उनले बताइन् । मन्त्री शर्माले नियम कानुनको पालना गर्नेहरूले टिकटक चलाउन नहुने बताइन् । 
 
उनले सामाजिक सञ्जाल समाज अनुकूल हुने गरी प्रयोग गर्न आवश्यक रहेको समेत बताइन् ।  सामाजिक सञ्जालसम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गई व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् । 
 
उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयकमा दर्ता गर्ने प्रक्रियामा रहेको बताइन् । मन्त्री शर्माले नेपालका कानुन र नेपालको समाजको महत्त्व आफ्नै भएकाले सबैलाई मान्य हुने गरी कुनै पनि सामाजिक सञ्जालहरू आउँछन् भने आपत्ति नरहेको बताइन् ।
 
टिकटक नाममा समस्या नभई कन्टेन्टमा समस्या रहेको भन्दै नेपालको नियम, कानुन र सोसल भ्याल्युलाई मानेर आउँदा र नेपालमा दर्ता भई स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने मन्त्री शर्माले बताइन् ।
 
मन्त्री शर्माले राजनीतिक रूपमा प्राप्त उपलब्धि र सामाजिक चेतनाको बिचमा अन्तर्विरोध भएको समेत बताइन् । उनले राजनीतिक व्यवस्थाअनुरूपको सामाजिक चेतना कसरी निर्माण गर्ने रु भन्ने विषयमा राज्यको नेतृत्वदायी भूमिका हुन जरुरी रहेको उनको भनाई छ ।