Trending :
 

हेटौँडामा नवनिर्मित देशकै तेस्रो ठूलो विद्युत सबस्टेशनको उद्घाटन आज

जेठ ३२,२०८१

-आस्था न्यूज

जेठ ३२, २०८१ काठमाडौं ।
 
हेटौँडामा नवनिर्मित देशकै ठूलो विद्युत् सबस्टेसनको औपचारिक उद्घाटन आज गरिने भएको छ। 
 
सबस्टेसनको उद्घाटनका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । उनी आजै हेटौँडा जाँदैछन्।
 
हेटौँडा उपमहानगरपालिका-११, स्थित थानाभर्‍याङमा निर्मित नेपाल विद्युत् प्राधिकरणको हेटौँडा सबस्टेसन चार्जसमेत भइसकेको छ।
 
देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङमा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ।
 
यसैगरी, नेपाल-भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमा नै २२० र १३२-११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
 
मुलुक भित्रको पूर्व-पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो ।
 
हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ । 
 
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व-पश्चिम ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत् व्यापार थप विस्तार हुने छ ।