Trending :
 

टी-२० विश्वकपः अमेरिकाले आयरल्यान्डको सामना गर्दै

जेठ ३२,२०८१

-आस्था न्यूज

जेठ ३२, २०८१ काठमाडौं ।
आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रबार अमेरिकाले आयरल्यान्डको सामना गर्दैछ । खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड पार्कमा नेपाली समय अनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।
 
अमेरिका र आयरल्यान्ड प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा भारत, पाकिस्तान र क्यानडा पनि रहेका छन् । आयरल्यान्ड बाहेक अन्य चार टोलीले तीन–तीन खेल खेलिसकेका छन् । आयरल्यान्डले भने दुई खेल मात्र खेलेको छ ।
 
अघिल्लो तीन वटै खेलमा विजयी भएको भारत ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । पहिलो संस्करणको उपाधि विजेता भारत यसअघि नै सुपर-८ चरणमा पुगिसकेको छ । तीन खेलबाट चार अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ ।
 
यसैगरी तीन खेलबाट दुई अङ्क बटुलेको पाकिस्तान तेस्रो र तीन खेलबाटै दुई अङ्क जोडेको क्यानडा चौथो स्थानमा आसीन छन् । आयरल्यान्डले भने दुई वटै खेलमा पराजित भएको छ । शुक्रबारको खेलमा विजयी भए आयोजक अमेरिका प्रतियोगिताको सुपर-८ चरणमा पुग्नेछ ।
 
अमेरिका र आयरल्यान्डबिचको खेल बराबरीमा सकिए वा रद्द भएमा पनि अमेरिका पाँच अङ्कसहित सुपर-८ चरणमा प्रवेश गर्नेछ । यस्तो स्थितिमा पाकिस्तान, क्यानडा र आयरल्यान्ड उपाधि होडबाट बाहिरिने छन् ।
 
अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडालाई सात विकेटले हराएको थियो । दोस्रो खेलमा अमेरिकाले बलियो पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा भने अमेरिकी टोली भारतसँग सात विकेटले पराजित भएको थियो ।
 
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा आयरल्यान्ड ११औँ र अमेरिका १८औँ स्थानमा आसीन छन् । टी-२० विश्वकपमा आयरल्यान्डको यो आठौँ सहभागिता हो । आयरल्यान्डले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणदेखि टी-२० विश्वकप खेल्न थालेको हो ।
 
टी–२० विश्वकपमा आयरल्यान्डको उत्कृष्ट प्रदर्शन सुपर–८ चरण हो । सन् २००९ को टी–२० विश्वकपमा आयरल्यान्ड सुपर–८ चरणमा पुगेको थियो । अमेरिकाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । यसपटक अमेरिकाले आयोजकका रूपमा विश्वकप खेलेको हो ।
 
आयरल्यान्ड र अमेरिकाबिच हालसम्म दुई वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन् । पछिल्लो भिडन्त सन् २०२१ को डिसेम्बर २३ तारिखमा फ्लोरिडामै भएको थियो । त्यो खेलमा आयरल्यान्ड नौ रनले विजयी भएको थियो ।
 
जारी विश्वकपमा अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । अमेरिकाका ब्याट्सम्यान एरोन जोन्स लयमा देखिन्छन् । उनले क्यानडाविरुद्धको खेलमा ९४ रन बनाएका थिए । पाकिस्तानविरुद्ध पनि उनले ३६ रन बनाएका थिए ।
 
अमेरिकी टोलीका बलर सौरभ नेत्रवाल्कर पनि लयमा छन् । उनले भारत र पाकिस्तानविरुद्धको खेलमा दुई–दुई विकेट लिएका थिए । पाकिस्तानविरुद्धको खेलमा त सुपर ओभरमा उनकै उत्कृष्ट बलिङका कारण अमेरिका विजयी भएको थियो ।
 
यसैगरी आयरल्यान्डका लागि कप्तान पल स्टर्लिङको प्रदर्शन उत्कृष्ट छ । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा देशका लागि तीन सय ६ सय रन बनाइसकेका छन् ।