Trending :
 

ड्रेन निर्माण गर्ने क्रममा पुरिएर तीन जना मजदुरको मृत्यु,स्थानीयद्वारा नगर कार्यालयमा ढुंगामुढा

जेठ ३२,२०८१

-आस्था न्यूज

जेठ ३२, २०८१ काठमाडौं ।
नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को कावासोतीमा ड्रेन निर्माण गर्ने क्रममा पुरिएर तीन जना मजदुरको मृत्यु भएपछि स्थानीयले नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेका छन्।
 
शुक्रबार दिउँसो वडा नम्बर २ मा रहेको नगरपालिकाको भवनमा स्थानीयले ढुंगामुढा गरेका हुन्। स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। 
 
भीडलाई तितरबितर बनाउन अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम रिजालले जानकारी दिए। 
 
उनका अनुसार केही व्यक्तिहरूलाई घाइते अवस्थामा अस्पताल पनि लगिएका छन्। यद्यपि घाइते कति जना छन् भन्ने खुलिसकेको छैन। 
 
कति सेल अश्रुग्यास प्रहार भएको भन्ने पनि यकिन भइनसकेको प्रहरीले जनाएको छ।
 
अहिले नगरपालिका भवनमा नगरपालिकाका पदाधिकारी,  प्रहरी, पिडित पक्ष, स्थानीय लगायतबीच छलफल जारी छ।
 
कावासोतीको फलफूल चोकदेखि पूर्वतिर ड्रेन निर्माण गरिरहेका मजदुरहरू बिहीबार पुरिएका थिए। 
 
तानमाया थाहा मगर, सोती राना र चमेली दर्लाही मगरको पुरिएर मृत्यु भएको थियो।