Trending :
 

गुल्मीमा ९ वर्षसम्म अलपत्र परेको तम्घास(खाम्सेपानी सडक कालोपत्रे हुदै

आषाढ ०२,२०८१

-रासस

असार २, २०८१ काठमाडौं ।
गुल्मीमा ९ वर्षसम्म अलपत्र परेको एक सडकको कालोपत्रेको काम सुरु भएको छ ।
 
तम्घास-खाम्सेपानी-नयाँगाउ-नादी सूर्यटारी सडकको करिब ३ किलोमिटर सडक अलपत्र परेको ९ वर्षपछि कालोपत्रे हुन लागेको हो ।
 
उक्त सडकको सुपा खोलासम्म साढे दुई किलोमिटरमा कालोपत्रे हुन सकेको थिएन । उक्त कार्यलाई अहिले पूर्णता दिन लागिएको हो ।
 
निर्माण व्यवसायिले पटकपटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पू नगर्दा समयमै काम हुन सकेको थिएन । अन्तिमपटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरिएको थियो ।
 
यसवर्ष भने अन्तिमपटक गर्नुपर्ने कालोपत्रेको काम सुरु भएको सडक पूर्वाधार कार्यालय गुल्मीका सब–इन्जिनियर लेनिस देवले बताए । अबको केही दिनमै कालोपत्रेको काम सम्पन्न हुने उनको भनाइ छ ।
 
सडकको २०७१ साल असार ३१ गते साम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले पहिलोपटक सम्झौता गरेको थियो । तर, ९ वर्ष हुँदा पनि काम पूरा भएन ।
 
सडकको तम्घासदेखि खाम्सेपानीअन्तर्गत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरी ७ करोड १९ लाख ८७ हजार ७० रुपैयाँमा सम्झौता भएको थियो ।
 
यो सडकखण्डको साढे दुई किलोमिटरभन्दा बाँकी खण्डको केही ठाउँमा भने २ वर्षअघि नै कालोपत्रे भएको थियो ।
 
सडक अलपत्र हुँदा त्यस स्थानका नागरिकलाई बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य सडकमा यात्रागर्नुपर्ने बाध्यता थियो ।