Trending :
 

मेट्रोपोलिस निर्देशक समिति बैठकमा भाग लिन बालेन शाह ब्राजिल प्रस्थान

आषाढ ०३,२०८१

-आस्था न्यूज

असार ३, २०८१ काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।  असार ५ र ६ गते ९जुन १९ र २०, २०२४० मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उहाँ ब्राजिल प्रस्थान गरेका हुन् । 
 
बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने कार्यक्रममा छन् । मेयरका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् । 
 
शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला महानगरहरुका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज वुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो ।   
सहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा शाहले सम्बोधन गर्नेछन् । 
 
कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा प्रमुख शाहले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्नेछन् । 
सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति वहस हुने महानगरपालिकाले जनाएको छ ।